संविधानसभाको निर्वाचन अगावै सफल र सार्थक संविधानसभाको निर्वाचन गर्न गराउनका लागि राजतन्त्र र एकात्मक शासन सत्ताको समूल अन्त्य गरी संघीय गणतन्त्रको घोषणा गर्नुपर्ने, संविधानसभाको चुनाव जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरी गर्नुपर्ने तथा जाति, भाषा र क्षेत्रको ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित स्वायत्त गणराज्यहरूको स्थापना हुनुपर्ने लगायतका मागहरू राखी मोर्चामा आवद्ध भएर उक्त विभिन्न राजनीतिक संगठनहरूले आन्दोलन जारी राखेका छन् ।
हाल आएर अन्तरिम संविधानको तेस्रो संशोधित विधेयकमार्फत पनि मोर्चामा आवद्ध संगठनहरूले राखेका मागहरू सम्बोधन नगरी पुन: असफल संविधानसभाको नाटक मञ्चन गर्न थालिएकोले यसको सांकेतिक विरोधस्वरूप उक्त संशोधित विधेयकको दहन गरिएको कुरा नेताहरूले बताएका छन् । विधेयक दहन गर्ने कार्य लिम्बुवानको ताप्लिङजोङ, पान्थर, इलाम, विर्तामोड, दमक, केर्खा झापा, विराटनगर मोरङ, र तेह्रथुममा प्रहरी दमनको बावजुद पनि सफलतापूर्वक दहन गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी मधेस र थारूहटका विभिन्न स्थानमा पनि व्यापक जन सहभागिताका साथ सो कार्य सम्पन्न भएको समाचार छ ।
काठमाडौंको मुटु, माइतिघर मण्डलाको विधेयक दहन कार्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष: कमल छाराहाङ, मधेसी जन अधिकार फोरमका उपध्यक्ष: किशोरकुमार विस्वास, संयुक्त थारू राष्ट्रिय मोर्चाका उपाध्यक्ष; यगेन्द्र थारू, जनजाति दलित पार्टीका अध्यक्ष: विसेन्द्र पासवान, मधेसी लोकतान्त्रिक मोर्चाका अध्यक्ष: कदमनरायण चौधरी, र तामाङसालिङ स्वायत्त राज्य परिषदका अध्यक्ष: डी. के. बुद्धिष्ट तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो । संघीय गणतान्त्रिक मोर्चाले   सोहि दिन   एक प्रेस विज्ञप्ति जाहेर गरी विधेयक दहन कार्य पूर्णरूपमा सफल भएको दावी गर्दै उक्त कार्यमा भएको प्रहरी दमनको घोर भर्त्सना गरेको छ ।